काठमाडौं । सत्तारूढ कांग्रेस र एमाले साढे दुई वर्ष पुरानो अमेरिकी भिसा प्रकरण ब्युँताउँदै उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन एकाएक सक्रिय भएका छन् । पदअनुकूल आचरण नगरेको भन्दै रानाविरुद्ध प्रस्ताव दर्ता प्रयोजनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा दुवै दलले मंगलबार आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेका छन् ।
आफू र असम्बन्धित अन्य पाँच जनाको भिसा अन्तर्वार्ताको मिति अगाडि सारिदिन अनुरोध गर्दै उपसभामुखको ‘लेटरहेड’ मा इन्दिरा रानाले अमेरिकी दूतावासलाई साढे दुई वर्षअघि पत्र लेखेको विषयलाई अहिले सत्तारूढ दल कांग्रेस र एमालेले उठाएका हुन् ।
तर, दुईतिहाइ मत जुटाउन नसकेपछि रोकिएका छन् । कांग्रेस इतरसमूहका नेता डा. शेखर कोइरालाले साथ नदिएपछि साझा कागजमा हस्ताक्षर जुटाएर प्रस्ताव अगाडि बढाउने कांग्रेस–एमालेको योजना असफल भएको हो । नेता कोइराला सरकारका कामकारबाहीप्रति असन्तुष्ट छन् ।
अमेरिकाको न्युयोर्कमा २२ फागुन–३ चैत २०७९ मा आयोजित संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा भाग लिन जाने बेला उपसभामुख रानाले भिसाको अन्तर्वार्ता छिटो सारिदिन २६ फेब्रुअरी २०२३ (१४ फागुन २०७९) मा दूतावासलाई पत्र लेखेकी थिइन् ।
