शनि, कार्तिक ८, २०८३
21.1 C
Kathmandu

मन्त्रिपरिषद्लाई झुक्याएर पत्नीसहित नर्वे घुमेर फर्किए वनमन्त्री शाही

काठमाडौं । हुँदै नभएको कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत गराएर वनमन्त्री ऐनबहादुर शाहीले पत्नी र स्वकीय सचिवलाई समेत सरकारी खर्चमा नर्वे घुमाएर ल्याएका छन् । उनीहरूको आतेजाते हवाई टिकटदेखि सम्पूर्ण खर्च प्रकृति संरक्षण कोष (एनटिएनसी) ले व्यहोरेको छ । ९ देखि १६ साउनसम्म मन्त्रीको टोली नर्वे घुमेको थियो ।

नर्वे घुम्न मन्त्री शाहीले मन्त्रिपरिषद्लाई नै झुक्याए । उनले आफ्नो मन्त्रालयबाट ‘नर्वे टु इस्ट्रेन्थन को–अपरेसन’ कार्यक्रममा सहभागी हुन जाने भन्दै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । यही प्रस्तावका आधारमा २३ असारको मन्त्रिपरिषद् बैठकले उनलाई भ्रमणका लागि अनुमति दिएको थियो । सो बैठकको निर्णयमा भनिएको छ, ‘९–१४ साउनमा नर्वेमा आयोजना हुने नर्वे टु इस्ट्रेन्थन को–अपरेसन कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरणमन्त्रीलाई स्वीकृत प्रदान गर्ने ।’

तर, नर्वेमा यो कार्यक्रम नै तय भएको थिएन । न त कार्यक्रम नै भयो । मन्त्री शाही पत्नी वसुना र स्वकीय अधिकृत भीम विष्टसहित घुमघाम गरेर फर्किए । अरू वेला वनमन्त्रीको विदेश भ्रमणका समाचार र सूचना सचिवालयको फेसबुक पेजबाट निरन्तर सम्प्रेषण गरिने भए पनि नर्वे भ्रमणमा सचिवालय पनि मौन बसेको थियो ।

मन्त्रीको टोलीसँगै प्रकृति संरक्षण कोष (एनटिएनसी)का सदस्यसचिव डा. नरेश सुवेदी र कार्यक्रम प्रबन्धक मधु क्षेत्री पनि नर्वे पुगेका थिए । घुमघामको सबै चाँजोपाँजो सदस्यसचिव सुवेदीले मिलाएका हुन् । उनले नै युनिभर्सिटी अफ इनल्यान्ड, नर्वेका प्राध्यापक मोर्टेन ओडेनलाई निमन्त्रणा पठाउन लगाएर एनटिएनसीको खर्चमा मन्त्रीदम्पती र उनका पिएलाई घुमाएका हुन् । सरकारको संगठित संस्था एनटिएनसीको अध्यक्ष वनमन्त्री हुन् ।

आगामी २ पुसमा सदस्यसचिव सुवेदीको कार्यकाल सकिँदै छ । नयाँ सदस्यसचिवका लागि दौडधुप सुरु भइसकेको छ । एनटिएनसीको सदस्यसचिव मन्त्रीले नियुक्त गर्ने व्यवस्था छ । मन्त्री शाहीलाई खुसी पार्न सदस्यसचिव सुवेदीले सबै खर्च व्यहोर्नेगरी ‘अनावश्यक’ कार्यक्रम मिलाएर नर्वे घुमाएको स्रोतले जनाएको समाचार नयाँ पत्रिकाले लेखेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज