काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानाले भिसा सिफारिस गर्दै लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको दाबी गरेको छ ।
बिहीबार केन्द्रीय समिति बैठकले रानाले लेखेको पत्र दूतावासमा समेत दर्ता नभएको ठहर गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकपछि बोल्दै रास्वपाका कार्यवहाक प्रवक्ता झाले भने, ‘त्यो पत्रबारे हामीले आफ्नो स्रोतबाट बुझ्यौं । अमेरिकी दूतावासमा दर्ता पनि नभएको रहेछ।’ रास्वपाले संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेको हुँदा रानाको पत्रबारे विवाद निकाल्न खोजिएको पनि दाबी गरेको छ । आजको बैठकले संवैधानिक परिषद्मा बहुमत पुर्याउनकै लागि पत्र लिक गरिएको निष्कर्ष निकालेको झाले बताए ।
झाले भने, ‘संवैधानिक परिषद्का बहुमत पुर्याउन यो पत्र लिक गरिएको हो ।’ यद्यपि यसरी पत्र लेख्नु गलत अभ्यास भएकाले आगामी दिनमा सजग हुनुपर्ने रास्वपाले बताएको छ । उपसभामुख अहिले पार्टीको सदस्य नभएको भन्दै झाले भने, ‘संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के छलफल हुन्छ भनेर हामी सचेत भएर बसेका छौं ।
उपसभामुख इन्दिरा राना मगरले फागुन २०७९ मा अमेरिकामा हुने एक कार्यक्रममा जान आफ्नो सहयोगी भनेर असम्बन्धित व्यक्तिलाई भिसाका लागि लिइने अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई पत्र लेखेको सार्वजनिक भएको थियो ।
