काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई सुधार गर्न कार्ययोजना बनाएर नै अघि बढ्ने बताएकी छिन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गर्न आवश्यक खाका बनाउने समेत बताइन्।
विद्यालय शिक्षा ऐन बनाउँदा निःशुल्क शिक्षा ऐनको भावलाई पनि समेट्न जरुरी रहेको उनको भनाइ छ। एक महिनाभित्र शिक्षा क्षेत्रको सुधारका लागि खाका तयार पार्ने उनले बताइन्। उनले शिक्षण सिकाइको नजिता एसईई परीक्षाको नतिजा भएकाले समग्र शिक्षण प्रणालीलाई पुनरावलोकन गर्न जरुरी रहेको धारणा राखिन्।
बैठकमा विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल समेत गरिएको थियो । बैठकले समितिअन्तर्गत गठित उपसमितिको कार्यलाई शीघ्र र गतिशिल बनाउने निर्णय गरेको छ ।
