काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ मन्त्री भित्रिएसँगै बधाई दिन आउनेको घुइँचो छ । नेपाली कांग्रेसबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप पौडेलसँग भेट गर्न आउनेहरूले सरुवाबढुवाका लागि मिलाइदिन आग्रह समेत गर्ने गरेका छन् ।
मन्त्रालयमा भीडभाड बढेर कामकाजमा नै अवरोध भएपछि मन्त्री पौडेलले भेटघाटको समय दिउँसो २ बजेपछि मात्रै निर्धारण गरेका छन् । सरुवाको अनुरोध गर्ने कर्मचारीलाई उनले ‘अहिले कर्मचारी नचलाउने’ जवाफ दिने गरेका छन् ।
“म अहिले कर्मचारीको सरुवाबढुवा हेरफेरमा लाग्दिनँ, त्यो मेरो प्राथमिकता पनि होइन । म काम गर्न आएको हुँ, काम गरेर देखाउँछु । विज्ञ कर्मचारीहरूको सल्लाहअनुसार अघि बढ्छु,” मन्त्री पौडेलले भने ।
