संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबन्डाको लगभग सहमति भएको छ। आइतबार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नासाथ लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीमा भैरहेको छ ।
प्रधानमन्त्रीको शपथलगत्तै केही मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ।
स्रोतका अनुसार संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको दाबी पेस गरेका ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पाँच–पाँच वटा मन्त्रालय भागबन्डामा सहमति जुटिसकेको छ।
सरकारमा सहभागी भएका दुई ठूला दलहरूका सांसद संख्याका आधारमा मन्त्री भागबन्डा गर्ने तयारी भएको एमालेका ओलीनिकट एक नेताका बताए ।
ती नेताले भने, ‘कांग्रेस गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय चलाउनेगरी अन्तिम सहमति हुन्छ होला।’ अन्य साना दलहरूलाई भने ४ सांसद बराबर एक मन्त्री दिनेगरी ओलीले प्रस्ताव गर्नेछन्।
एमालेले अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लिनेछ भने नेपाली कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिने सहमति भएको छ ।
भौतिक योजना र ऊर्जा लगायतका मन्त्रालय भने कसले लिने भन्ने टुंगो लागिसकेको छैन।
नेपाली कांग्रेसबाट प्रकाशमामन सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने देउवाको तयारी छ। उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित क्याबिनेटमा पठाइनेछ । सिंहले भौतिक, पूर्वाधार तथा योजना मन्त्रालय मागेका थिए । तर उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना देखिएको कांग्रेसका एक नेताले बताए । गृह मन्त्रालयको जिम्मेवारी कांग्रेसको प्रमुख सचेतक समेत रहेका रमेश लेखकले पाउने निश्चित छ। त्यस्तै, देउवा पत्नी समेत रहेकी आरजु राणा देउवालाई परराष्ट्र मन्त्री बनाउने तयारी भैरहेको छ।
एमालेबाट उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिएर उपाध्यक्ष विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयमा योगेश भट्टराईलाई पठाउने ओलीको तयारी भएको एमालेका नेताहरूले बताएका छन्।
अन्य नामबारे ओली र देउवा दुवैले पार्टीमा छलफल गर्दैछन् । कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय गरेको छ।
